कालिका २८ माघ । पदमपुर क्षेत्रका प्रत्येक घरधुरीलाई सहज रुपमा पिउने पानी वितरण गरिने पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले योजना बनाएको छ । शनिवार आयोजना गरिएको १४ औं साधरण सभा तथा छैठौं अधिवेशनमा पदमपुरका स्थानीयलाई सहज रुपमा पिउने पानी वितरण गरिने संमितिले जानकारी दिएका हो ।
पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत पदमपुरमा मात्रै ३ हजार ८ सय ४९ वटा धारा जडान भएको छ । जडान भएको धारा मध्ये ३ हजार ७ सय ९५ वटा धारा मात्रै चालु अवस्थामा छ । आगामी दिनमा सबै पदमपुरवासीलाई पिउने पानीको पहूँच पुर्याउने समितिको लक्ष्य छ ।
२०६० सालमा स्थापना भएको पदमपुरकै पहिलो ४ लाख ५० हजार लिटर क्षमता भएको ओभरह्याड ट्याँकीले १५ हजार बढीले पानी उपभोग गरिरहेका छन् । पदमपुर खानेपानी तथा सरसफाई समिति मार्फत पदमपुरमा थप पानी ट्यांकी निर्माण भइरहेका छन् । पदमपुरका स्थानीयलाई सफा र सुद्ध पिउने पानी व्यवस्थापन गर्न आफु सधै लागिपर्ने बागमती प्रदेशका सांसद कृष्ण प्रसाद सिल्वालले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद सिलवालले पदमपुर खानेपानी ट्यांकी नहुँदा पदमपुरबासीले भोग्नुपरेको पीडालाई स्मरण गर्नुभयो । उहाँले पदमपुरसँगै कालिका नगरपालिकाका हरेक नगरबासी सम्म पिउने पानी पुर्याउन आफु सधै सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले पिउने पानी व्यवस्थापन गर्ने नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । नगरपालिकाले पिउने पानी व्यवस्थापनका लागि नगर क्षेत्रका विभिन्न वडाहरुमा लाखौं रुपैयाँ खर्च गरेर संरचना निर्माण गरिरहेका जानकारी दिनुभयो । भएका संरचनालाई व्यवस्थित बनाउने र अपुग भएका ठाउँमा थप संरचना बनाउँदै अगाडी बढ्ने नगरपालिकाको योजनानै रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, उपभोक्ताहरुको समेत सहभागीता थियो । कार्यक्रम पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा आयोजना गरिएको हो । –00–