काठमाडौं, २ साउन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाउने क्रममा उक्त धारणा राखेका हुन्। नेपाल मतदाता अधिकार मञ्चले सो ध्यानाकर्षण पत्र अध्यक्ष प्रचण्डलाई बुझाएको थियो।
“नेताहरुलाई माग र सुझाव बुझाएरमात्र परिवर्तन सम्भव हुँदैन,” प्रचण्डले भने, “जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोस्।”
उनले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनको विषयमा माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्दै, निर्वाचन प्रणालीमा आवश्यक सुधारका लागि निरन्तर आवाज उठाउँदै आएको पनि स्मरण गराए।
प्रचण्डले वर्तमान खर्चिलो निर्वाचन प्रणालीले भ्रष्टाचारलाई मलजल गरेको टिप्पणी गर्दै भने, “मुहानबाट धमिलो पानी आइरहेको छ भने धाराबाट सफा पानी खोज्न मिल्दैन।” सांसद भएपछि मात्र मन्त्री वा प्रधानमन्त्री बन्ने व्यवस्था पनि परिवर्तन हुनुपर्ने उनको धारणा थियो।
उनले प्रत्यक्ष कार्यकारी व्यवस्था रहने नयाँ निर्वाचन प्रणाली आवश्यक भएको औंल्याउँदै जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। मतदाता अधिकार मञ्चले उक्त कार्यक्रममा निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वमा समावेशीकरण, र मतदाताका अधिकार सुनिश्चिततासम्बन्धी विभिन्न मागहरू प्रस्तुत गरेको थियो।

