माडी नगरपालिकाको १५औं नगरसभा सम्पन्न: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पशुपालनमा विशेष प्राथमिकता

 

– रेशम सापकोटा / सेताेनेपाल ।
माडी,१० असार । माडी नगरपालिका, चितवनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बहुआयामिक नीति तथा कार्यक्रमसहित रु. ९२ करोड ६६ लाख ८८ हजार ५४९ रुपैयाँ ९७ पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।

नगर उपप्रमुख खेम प्रसाद महतोले माडी–३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा सम्पन्न १५औं नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता नगरप्रमुख ताराकुमारी काजी महतोले गर्नुभएको थियो।

संघीय सरकारबाट रु. ६२ करोड ७८ लाख, प्रदेश सरकारबाट १६ करोड ४७ लाख र आन्तरिक स्रोतबाट १३ करोड ४१ लाख आम्दानी हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा यो बजेट रु. ४० लाख १९ हजारले घटेको हो।

शिक्षा क्षेत्रमा गुणस्तरीय रुपान्तरणको प्रतिबद्धता-

‘गुणस्तरीय शिक्षा : हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सार्वजनिक विद्यालय सुधारका लागि २६ बुँदे कार्ययोजना सार्वजनिक गरिएको छ। ‘रमाइलो शुक्रबार’, ‘सिकाइसँगै उत्पादन’, डिजिटल हाजिरी, स्मार्ट बोर्ड, कम्प्युटर ल्याब र इन्टरनेट विस्तारजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। साथै विपन्न तथा सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति दिइने र स्वयंसेवक शिक्षकसमेत परिचालन गरिनेछ।

स्वास्थ्यमा योग, पोषण र आयुर्वेदमा जोड-

स्वास्थ्य क्षेत्रमा ‘हेल्थ प्रोफाइल’ तयार गर्दै योजनाबद्ध सेवा विस्तार, मानसिक स्वास्थ्य, पोषणमैत्री माडी, विद्यालय नर्स कार्यक्रम, स्वास्थ्य बीमा सुधार तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गरिनेछ। बघौडा अस्पताललाई आईसीयू, ब्लड बैंक, पोष्टमार्टम, ल्याबसहित स्तरोन्नति गर्दै रेफरल अस्पतालको रूपमा विकास गरिनेछ। योग, ध्यान, जडीबुटी खेती र आयुर्वेद प्रवर्द्धनमार्फत गैर-संक्रामक रोग नियन्त्रण गरिने योजना छ।

कृषि क्षेत्रको आधुनिकीकरण र उद्यमशीलता-

कृषि क्षेत्रमा १ करोड रुपैयाँको बजेटसहित १२ कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। सिधुवा हाटबजार सञ्चालन, गोदामघर तथा कोल्ड च्याम्बर स्थापना, यान्त्रिक कृषि प्रणाली, प्लान्ट क्लिनिक, माटो परीक्षण, अनुदान, महिला सहभागिता र युवालाई व्यावसायिक कृषिमा आकर्षण दिने रणनीति अघि सारिएको छ।

पर्यटन विकासका लागि समन्वित प्रयास-

स्थानीय पर्यटन प्रवर्द्धनका लागि देशका प्रमुख सहरहरूमा माडी पर्यटन दूत र सूचना केन्द्र स्थापना गरिनेछ। सोमेश्वरधाम, परशुराम कुण्ड, वाल्मीकि आश्रमलगायत धार्मिक तथा ऐतिहासिक स्थलहरूमा स्तरोन्नति र ट्रेकिङ ट्रेल निर्माण गरिनेछ। सांस्कृतिक भवन, सामुदायिक होमस्टे, र सिमरा गाउँलाई ‘माडी–भरतपुर संगतिया गाउँ’को रूपमा विकास गर्ने योजनासमेत सार्वजनिक गरिएको छ। साथमा वृत्तचित्र प्रतियोगिता र भ्लगर सम्मेलनसमेत गरिनेछ।

पशुपालन र मत्स्य व्यवसायमा आत्मनिर्भरता-

‘खोरेतमुक्त सेतो माडी अभियान’ अन्तर्गत पशुपालनलाई प्रोत्साहन दिँदै दुग्ध प्रवर्द्धन कार्यक्रम, दूधको प्याकेजिङ र ब्राण्डिङ, रेबिज नियन्त्रण, पशु स्वास्थ्य शिविर, उन्नत जातको प्रवर्धन, माछा उत्पादन वृद्धि र ‘माडी माछा’ ब्राण्ड निर्माण गरिनेछ। यस क्षेत्रका लागि १ करोड २० लाख बजेटसहित १५ कार्यक्रम घोषणा गरिएको छ।

दिगो विकास र जनउत्तरदायी शासनतर्फको पाइला-

नगरसभाबाट पारित नीति तथा कार्यक्रमहरूले दिगो विकास, स्वावलम्बी समाज निर्माण र जनउत्तरदायी शासनप्रणाली स्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

नगरप्रमुख ताराकुमारी महतोका अनुसार, समावेशी नीति, स्पष्ट कार्ययोजना र समुदायसँगको सहकार्यमार्फत माडी नगर समृद्धिको यात्रामा अगाडि बढ्नेछ।

Share:

सम्बन्धित समाचारहरु