१३ वटै जिल्लाबाट प्रतिनिधिको सहभागिता

चितवनमा सम्पन्न भयो बागमती प्रदेशस्तरीय खो-खो प्रशिक्षक तालिम

चितवन, १७ असार  । वाग्मती प्रदेश खेलकुद परिषद्को सहयोगमा चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रदेशस्तरीय खो-खो प्रशिक्षक तालिम चितवनमा सफलतापूर्वक सम्पन्न भएको छ। असार १३ गतेदेखि सुरु भएको तालिम १७ गतेसम्म सञ्चालन गरिएको थियो।

उक्त तालिममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक/एक जना गरी कुल १३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको उद्घाटन तथा समापन कार्यक्रम चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिको रूपमा चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन शैलेश थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका सदस्य पुर्ण महतो निशानले दिनुभएको थियो। उनले स्वागत मन्तव्यमा भने,

“खेलकुद राष्ट्र निर्माणको एक महत्वपूर्ण आधार हो। यसले युवामा अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वासको भावना विकास गराउँछ। विशेषतः खो-खोजस्तो मौलिक र सक्रिय खेलको प्रवर्द्धन आजको आवश्यकता हो।”

प्रमुख अतिथि नारायण अधिकारीले खेलकुदले युवालाई सकारात्मक मार्गमा डोर्याउने उल्लेख गर्दै भने,

“खेलकुदको माध्यमबाट देश चिनिन्छ। यसले युवामा उज्ज्वल भविष्य निर्माण गर्ने प्रेरणा दिन्छ। त्यसैले खेल क्षेत्रलाई प्राथमिकता दिनु आवश्यक छ।”

अध्यक्ष राजन कार्कीले चितवनमा आगामी दिनहरूमा पनि विविध खेलकुद गतिविधिहरू सञ्चालन गरिने जनाउँदै भने,

“दक्ष प्रशिक्षक र खेलाडी उत्पादन गरी जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने वातावरण निर्माण गर्दैछौँ।”

तालिमले सहभागी प्रशिक्षार्थीहरूलाई आधुनिक खेल प्रविधि, रणनीति, प्रशिक्षण विधि र नेतृत्व क्षमतामा वृद्धि गर्ने विश्वास आयोजकले लिएको छ। तालिम सफल बनाउन सहयोग गर्ने सबै निकाय, प्रशिक्षक तथा खेलप्रेमीहरूलाई आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।

Share:

सम्बन्धित समाचारहरु