राप्ती, २६ साउन । चितवन निर्वाचन क्षेत्र नं १ का सांसद हरि ढकालले नतिजा मूल्य कामगर्न नसकेको स्वीकार गरेका छन् । केही गराैं भन्दै आफ्नो निर्वाचन क्षेत्रमा दाैडधुत तीब्र बनाएपनि नतिजा मूलक कामगर्न सकेका छैनन् ।
स्थानीय तहसंग समन्वय गरेर याेजना ल्याउनुुपर्नेमा सांसद ढकाल पहिलाे पटक निर्वाचित भएकाे आठ महिनापछि राप्ती नगरपालिका पुगे । स्थानीय जनप्रतिनिधिसंगकाे छलफलमा आफुले याेजना बनाउनेबेला समन्वय गर्न नसकेको स्वीकार गरे । राप्ती नगरपालिका सांसद ढकालको निर्वाचन क्षेत्र हाे । उनि नगरपालिका पहिलो पटक पुगेका हुन ।
बजेट तथा योजना बनाउने समयमा हाम्रो सहकार्य हुनुपथ्र्याे हुन सकेन त्याे हाम्राे कमजोरी रह्यो’, सांसद् ढकालले भने, ‘आगामी दिनमा पालिकाहरुसँग समन्वय गरेर अघि बढ्ने छु, त्रुटि हुनेछैन ।’
स्थानीय पालिकाले सांसद्प्रति गर्ने अपेक्षा तथा सहकार्य हुन नसकेको उनको गुनासो थियो । सहकार्य नभए पनि पुरानो योजनाहरु क्रमागत बजेट रहेको ढकालले सुनाए । क्षेत्रको विकासका लागि तिनै तह मिल्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
स्वतन्त्र पार्टीले चुनाव जितेपछि यहाँ पालिकाले आफूसँग सहकार्य र समन्वय नगरेको सङ्केत गर्दै सांसद् ढकालले भने, ‘स्थानीय तह, प्रदेश, संघबीच तालमेल नभए विकास सम्भव छैन, हातेमालो आवश्यक छ ।’ यसवर्ष थप योजना ल्याउन नसके पनि आगामी वर्ष तीनवटै तह मिलेर योजना ल्याउने उनले बताए । तर, आफ्नो नाम भजाएर योजना तथा बजेट नल्याउने उनको भनाइ थियो ।
‘अहिलेसम्म नाम भजाएर यति बजेट र योजना ल्याएको भनियो, म त्यो हुन दिन्नँ । एक रूपैयाँ पनि मेरा कारण आएको भन्दिनँ’, सांसद् ढकालले भने । समान विकासका लागि आफू निर्वाचित भएपछि एक भोट पनि नपाएको वडा राप्ती–१३ बाट काम थालिएको उनले सुनाए ।
सो अवसरमा राप्ती नगरपालिका प्रमुख शमशेर लामाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । शिक्षाको सुधारका लागि दिवा खाजादेखि निःशुल्क शिक्षा लागू गरिएको, स्वास्थ्य क्षेत्रको सुधारमा नगर अस्पताल व्यवस्थित गर्नेदेखि स्वास्थ्य बिमा लागू भएको प्रमुख लामाले बताए ।
‘केही गर्ने हुटहुटी छ, सुधारको सङ्केत देखिँदैछ’, नगरप्रमुख लामाले भने, ‘नगरवासीलाई अनुभूति हुने गरी शिक्षा, स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ, त्यसमा पहाडी वडालाई विशेष ध्यान दिइएको छ ।’ नगरप्रमुख लामाले बजार व्यवस्थापनको काम सुरू भएको उल्लेख गर्दै नगरको मुटुमा रहेको नहर विभागको जग्गा खाली गर्ने अभियानमा आफू लागेको बताए ।
सो अवसरमा नगरपालिकाले औपचारिकरुपमा सांसद् ढकाललाई स्वागत गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले टीका लगाउनुका साथै नगरप्रमुख लामाले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा राप्ती–७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी, १० का वडा अध्यक्ष तेजबहादुर तामाङ, ११ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तान, १२ का वडा अध्यक्ष अर्जुन प्रजा र १३ का वडा अध्यक्ष अशोक प्रजालगायत स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए ।


