कालिकामा बिना अनुमति गाउँगाउँ डुलेर सामान बेच्ने रिक्सा–ठेला व्यवसायीलाई कारबाही गरिने

चितवन, १० वैशाख। कालिका नगरपालिकाले नगरक्षेत्रभित्र बिना अनुमति रिक्सा वा ठेलामा तरकारी, फलफूल तथा अन्य सामान गाउँगाउँ डुलेर बिक्री वितरण गर्दै हुनुहुन्छ भने होसियार तपाई कार्वाहीमा पर्नुहोला ।

 

बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले चालु वैशाख महिनाभरि यस्ता व्यवसायीलाई नगरपालिकामा दर्ता हुन अनुरोध गरिएको छ। नगरपालिकाले तयार पारेको कार्यविधिअनुसार अब सम्बन्धित वडा कार्यालयमा दर्ता भएर मात्र गाउँ डुलेर व्यापार गर्न पाइनेछ। विना दर्ता भेटिएमा कानूनी कारबाही गरिने नगरपालिकाले जनाएको छ।

वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालका अनुसार पछिल्लो समय बजार क्षेत्रमा अखाद्य वस्तु समेत विक्री हुने गुनासो बढेपछि नगरपालिका सक्रिय भएको हो। पहाडी भेगसम्म अपरिचित व्यापारीहरू बिना अनुमति व्यापार गर्दै आइरहेकाले सुरक्षाका दृष्टिकोणले पनि स्थानीय तहमा दर्ताहुनुपर्ने व्यवस्था ल्याइएको हो।

हाटबजार पनि अनुमति लिएर मात्र सञ्चालन गर्नपर्नेः

कालिका नगरपालिकाले हाटबजार व्यवस्थापनका लागि समेत कार्यविधि बनाएको छ। जेठ १ गतेभित्र अनुमति लिएर मात्र हाटबजार सञ्चालन गर्न सकिनेछ। व्यक्ति वा संस्थाको नाममा अनुमति लिन सकिने व्यवस्था गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईका अनुसार, हाटबजार सञ्चालनका लागि बजारदेखि दूरी, विक्री हुने वस्तु, शौचालय, पार्किङजस्ता मापदण्ड कार्यविधिमा समेटिएको छ।

अटोरिक्सापनि अनिवार्य दर्ता गर्नुपर्ने:

नगर क्षेत्रभित्र चल्ने अटोरिक्साहरूलाई समेत नगरपालिका दर्ता गर्न आग्रह गरिएको छ। हालसम्म कति अटो सञ्चालनमा छन् भन्ने तथ्यांक नहुँदा व्यवस्थापनमा समस्या भएको जनाइएको छ। अटोवालाहरूले मनपरी भाडा लिन थालेको गुनासो बढेपछि रुट निर्धारण, पार्किङ सुविधा व्यवस्थापन गर्न दर्ता अनिवार्य गरिएको हो।

कर तिर्ने सचेतना कार्यक्रम तीव्र:

नगरपालिकाले राजस्व तिर्ने संस्कार विकास गर्न बजार क्षेत्रमै स्टिकर टाँस्ने कार्यक्रमलाई तीव्र बनाएको छ। आज कालिका वडा नं। ४ स्थित पदमपुरको हाइस्कुल बजार क्षेत्रका पसलहरूमा पुगेर राजस्वसम्बन्धी जानकारीसहित स्टिकर टाँसिएको छ। उपप्रमुख तथा अनुमन समिति संयोजक विमला तामाङको नेतृत्वमा गएको टोलीले स्थानीय व्यवसायीहरूसँग संवाद गरेको थियो। कार्यक्रममा वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत चौलागाई, लेखा अधिकृत कडुवाल, कार्यपालिका सदस्यहरू, बजार व्यवस्थापन समिति र नगरकर्मचारीहरूको उपस्थिति रहेको थियो।

—00–

Share:

सम्बन्धित समाचारहरु