ब्यारेजका ५६ वटै ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च

सुनसरी, २९ साउन

लगातारको बर्षाले सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।

बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । अहिले भने यसको क्रम घट्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् । उनका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।

यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिइन् । उनले भनिन्, ‘वस्ती बाढीमा पसिसकेको चाहिँ छैन, तर हामी हाई अलर्टमा छौं ।’

Share:

सम्बन्धित समाचारहरु