चितवन, १३ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ निवासी २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेटका चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१–एन–०१३३ ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।
घाइते ट्रक सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


