काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठितरूपमा आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको बताएका छन्।
मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र विभिन्न शक्तिहरूले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र गरेको बताए। उनले आफूले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षड्यन्त्र सफल नहुने बताए।
उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भए पनि आफ्नो पछाडिमात्रै लाग्ने काम भएको तर्क गरे। उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यका साथ पार्टी अघि बढेको बताए। आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने उनको भनाइ छ।
लामिछानेले देश बनाउने मुद्दामा दलहरूका नेताहरूबीच मतभेद भए पनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक हुने गरेको आरोप लगाएका थिए । –00–


