चितवन, ३२ साउन । लिङ्ग काटिएका मकवानपुरका युवकको स्वास्थ्य खतरामुक्त रहेको छ । चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालमा उनको काटिएको भाग फालेर शल्यक्रिया गरिएको हो ।
मकवानपुरगढीका नविन हुमागाईको आज शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनको लिङ्गको आधा भाग काटिएको अवस्थामा अस्पताल आएका थिए । डा.लम्सालले भन्नुभयो “काटिएको भाग छालाले मात्रै अडिएको र ६–७ घण्टाभन्दा बढी समय भएकाले काटिएको भाग बचाउन सकिएन ।” बाँकी भागको शल्यक्रिया गरिएको उहाँको भनाई छ ।
अस्पतालका सर्जन डा.किशोर ताम्राकार र डा.वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो । प्लास्टिक सर्जन डा. मनिस देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरेको भए पनि सम्भव नभएको उहाँले जानकारी दिनुभयो । हाल हुमागाईको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको छ । डा.लम्सालका अनुसार हुमागाई आफै खाना खान सक्ने भएका छन् ।
हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी संवेदनशील अंग काटेर उपचारको लागि आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि गए राति १२ बजे चितवन मेडिकल कलेज रेफर गरेको थियो । प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् ।–00–


