प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन जाने तयारी

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले यही असार १६ गतेदेखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा भाग लिने कार्यक्रम रहेको छ।

स्पेनस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित रहेको र भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी त्यहाँका नेपाली राजदूत शनिल नेपालले दिएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तो अवसरमा नेपाल–स्पेनबीच सहयोग तथा सम्बन्ध विस्तार सम्बन्धी महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने छ।

प्रधानमन्त्रीले त्यहाँको नेपाली समुदाय तथा स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

नेपाल–स्पेन सम्बन्धको पृष्ठभूमि

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। यद्यपि, सन् २०१८ मा मात्रै स्पेनमा नेपालको आवासीय दूतावास स्थापना गरिएको हो। स्पेनको नेपालमा स्थायी दूतावास नभएकाले हाल दिल्लीस्थित स्पेनिस दूतावासमार्फत नेपालसँगको सम्बन्ध सम्हालिँदै आएको छ।

स्पेनमा करिब २० हजार नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्। उनीहरू मुख्यतः कृषि, होटल, पर्यटन तथा निर्माण क्षेत्रमा कार्यरत छन्।

यसअघि पनि नेपाल–स्पेनबीच उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ।

  • तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन भ्रमण गरेका थिए।
  • राजा कार्लोसले सन् १९८७ मा नेपालको चारदिने राजकीय भ्रमण गरेका थिए।
  • प्रधानमन्त्री प्रचण्डले सन् २०१६ मा द्वन्द्वपीडित विषयमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएका थिए।
  • सञ्चारमन्त्री गोकुल बास्कोटाले सन् २०१९ मा GSM सम्मेलनमा भाग लिएका थिए।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०२१ मा जलवायु परिवर्तन तथा पर्यटन सम्बन्धी सहकार्यमा स्पेन भ्रमण गरेकी थिइन्।

पर्यटन, रोजगारी र सम्भावना

स्पेनमा वार्षिक सवा करोडभन्दा बढी पर्यटक पुग्ने तथ्याङ्क छ। सन् २०१८ मा मात्रै १९ हजार ५६३ स्पेनिस पर्यटक नेपाल आएका थिए। तर, कोभिड-१९ महामारीपछि आगमनमा गिरावट आएको छ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, अध्यात्मिक यात्रा र साहसिक पर्यटन स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने बलियो सम्भावना बोकेको छ।

प्रधानमन्त्रीको यो भ्रमणले नेपालबारे स्पेनलगायत युरोपेली मुलुकमा सकारात्मक छवि निर्माण गर्नुका साथै पर्यटन, व्यापार तथा कूटनीतिक सम्बन्ध विस्तारमा योगदान पुग्ने विश्वास गरिएको छ।

 

Share:

सम्बन्धित समाचारहरु