रिड नेपाल र चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ।

परियोजना रिड नेपाल र विभिन्न सामुदायिक पुस्तकालयहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। हालका लागि १५ महिनाको अवधि निर्धारण गरिएको यस परियोजनाले १३ देखि १९ वर्ष उमेर समूहका किशोरी र किशारलाई विभिन्न प्रविधिमार्फत क्षमता विकास, व्यक्तित्व विकास तथा विभिन्न विषयमा वकालत गर्न सक्ने बनाउने लक्ष्य लिएको छ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका सामाजिक विकास समिति संयोजक सोहेन्द्र राज खरेलले यस्ता कार्यक्रमहरूले किशोर किशोरीहरूमा सकारात्मक प्रभाव पार्ने र उनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस अभियानमा रत्ननगर नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिहरूमा रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महत्तो, वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, वडा नं. ६ की वडा सदस्य बविता चौधरी तथा वडा नं. ७ का वडा सदस्य कुल प्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष सागर मिश्र, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। परियोजनाबारे रिड नेपाल का कार्यक्रम अधिकृत तारा बहादुर थापाले विस्तृत जानकारी गराउनुभएको थियो।

सम्झौतापत्रमा झुवानी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिव्यज्योती सामुदायिक पुस्तकालय र टरौली सामुदायिक पुस्तकालयलेका अध्यक्षहरू तथा रिड नेपालकाका डिप्युटी डाइरेक्टर चिनकाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।

सौराहा सामुदायिक पुस्तकालयका उपाध्यक्ष सुजाता विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पुस्तकालयका व्यवस्थापक लक्ष्मी विडारीले गर्नुभएको थियो।

Share:

सम्बन्धित समाचारहरु