चितवन, असार २२
चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने रोजगार मेला आज बुधबारदेखि सुरु भएको छ ।
मेलाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले मेलाले जनशक्ति खोजिरहेका उद्योग व्यवसाय र काम खोजिरहेका युवाहरुलाई भेट गराउने काम गर्ने बताउनुभयो । देशमै रोजगारी सृजना गर्न यस प्रकारका मेलाले सहयोग पुर्याउने उहाँको भनाई छ । महानगरपालिकाले विकास निर्माण संगै मानव स्रोत साधनको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गरिएको हो ।
मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पहिलो दिन मेलामा युवा विद्यार्थीको भीड लागेको छ ।
बुधबार र बिहीबार हुने दुईदिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका एक दर्जन संघसंस्थाले सहकार्य गरेका छन् । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा सुरु मेलाले जिल्लामा न्यून स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।
मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिनुभयो । मेलामा ६२ वटा स्टल रहेका छन् ।
जिल्लाका सात वटा पालिका, जब लिंक तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल राखिएको आयोजकले जनाएको छ । मेलामा संकलन गरिएको तथ्याङ्कलाई अनलाइनबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले बताउनुभयो । मेला अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।