[सेतोनेपाल - विशेष रिपोर्ट]

साढे १० महिनामा १८ पटक विदेश गइन् परराष्ट्रमन्त्री राणा: अनावश्यक भ्रमणले कूटनीतिक छवि धमिलिँदै

काठमाडौं, १८ जेठ । सरकार गठन भएको साढे १० महिना पुग्दा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विदेश भ्रमणबारे चासो बढेको छ।

गठबन्धन निर्माणमा मुख्य भूमिका खेलेपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी राणा २०८१ असार ३१ मा मन्त्री नियुक्त भएकी थिइन्। त्यसयता उनले १३ देशमा १८ पटक भ्रमण गरेकी छन्। राणा गएराति मात्रै चार दिने हङकङ भ्रमण सकेर फर्किएकी हुन्। यसअघि पाँच दिने जापान भ्रमण सकेर फर्किएकी थिइन्। जापान भ्रमणपछि उनले भनेकी थिइन्, “जापान भ्रमण उपलब्धिमूलक रह्यो।”

तर परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार मन्त्री राणाको कतिपय भ्रमण अनावश्यक र कूटनीतिक मर्यादाविपरीत देखिएको छ।

जसको लागि जापान गइन्, त्यो सम्मेलन मन्त्रीस्तरीय थिएन

राणा जापानमा आयोजित ज्येष्ठ नागरिकको सामाजिक एकान्तता विषयक सम्मेलनमा सहभागी हुन गएकी थिइन्। उक्त सम्मेलन फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल (एफडब्लुईएपी) ले आयोजना गरेको थियो। तर परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, “उहाँ जानुभएको कार्यक्रम मन्त्रीस्तरको थिएन। परराष्ट्रमन्त्रीको उपस्थिति आवश्यक नै थिएन।”

व्यक्तिगत भ्रमण, अनिश्चित कार्यक्रम, कमजोर तयारी

राणाको भारत भ्रमण (२०८१ फागुन २६–चैत ८) धार्मिक कारण देखाएर गरिएको थियो। भारत पुगेको तेस्रो दिनमात्र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता तय भएको थियो। “विदेशमन्त्रीको भ्रमण हुँदासम्म समकक्षीको भेट निश्चित नभएर जानु सामान्य कूटनीतिक मान्यताविपरीत हो,” परराष्ट्र मन्त्रालय स्रोत भन्छ।

बेल्जियममा अपमान, थाइल्याण्डमा व्यक्तिगत उपचार

२०८१ पुसमा १४ दिने युरोप भ्रमणका क्रममा बेल्जियममा केही नेपालीहरूले प्लेकार्ड प्रदर्शन गर्दै मन्त्री राणाको आलोचना गरे। थाइल्याण्डको भ्रमण (२०८१ माघ ५–१५) पनि विवादास्पद बन्यो। बैंककमा उनी ‘स्वास्थ्य उपचार’ का लागि गएकी बताइएको भए पनि मन्त्रालयले स्पष्ट खुलासा गरेको छैन।

साढे १० महिनामा १०४ दिन विदेशमा

३१५ दिनको कार्यकालमा मन्त्री राणाले १०४ दिन विदेशमा बिताएकी छन्, जुन कार्यकालको ३२.०६ प्रतिशत समय हो।

भ्रमण विवरण: कतिपटक कहाँ?

  • भारत – ३ पटक

  • थाइल्याण्ड – ३ पटक

  • चीन – २ पटक

  • अमेरिका, क्यानडा, कतार, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, स्वीट्जरल्याण्ड, ओमान, जापान – १–१ पटक

परराष्ट्रमन्त्री राणाको तीव्र विदेश भ्रमण र कार्यक्रम चयनबारे परराष्ट्र मन्त्रालयभित्रै असन्तोष देखिएको छ। स्रोतहरू भन्छन्, “मन्त्रीले विदेश भ्रमण गर्दा देशको प्रतिष्ठा झल्किन्छ। त्यसैले हरेक भ्रमण सन्देशमूलक, उद्देश्यपूर्ण र मर्यादित हुनुपर्छ।”

Share:

सम्बन्धित समाचारहरु