- सेतोनेपाल न्यूज डेक्स । मौसम विशेष
चितवन , ५ जेठ । देशका विभिन्न स्थानमा मनसुन सुरू हुनुअघि नै ‘धेरै भारी’ वर्षा भएको छ। कास्की, रौतहट, सप्तरी र चितवन जिल्लामा पछिल्लो २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सोमबार अपराह्न ४ बजेसम्म
-
कास्कीमा १२० मिलिमिटर
-
रौतहटमा १२० मिलिमिटर
-
सप्तरीमा १०७ मिलिमिटर
-
चितवनमा १०० मिलिमिटर वर्षा भएको हो।
महाशाखाका अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटर वर्षा भएमा ‘धेरै भारी’ वर्षा मानिन्छ। यदि २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अति भारी’ वर्षा भनिन्छ।
यस अवधिमा देशका केही स्थानमा ‘भारी’ र ‘मध्यम’ वर्षा पनि मापन गरिएको छ।
-
५०–१०० मिलिमिटर वर्षालाई ‘भारी’
-
१०–५० मिलिमिटर वर्षालाई ‘मध्यम’
-
१० मिलिमिटरभन्दा कमलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले स्पष्ट पारेको छ।
हाल काठमाडौंसहित केही स्थानमा पानी परिरहेको छ। पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा लगातार झरीजस्तो वर्षा भइरहेको छ, जसलाई मौसमविद्हरूले ‘मनसुनजस्तो’ अवस्था भनेका छन्।
मनसुन सुरु भएको छैन, तर प्रभाव ‘मनसुन टाइप’ को –
हाल नेपालमा प्रिमनसुन अवधि चलिरहेको मौसमविद्हरू बताउँछन्। यस अवधिमा लामो समय वर्षा हुने होइन, तर हाल देखिएको लगातार पानी मनसुनकै झल्को दिने खालको छ। बिहान, दिउँसो र रातिसम्म पनि पानी परिरहेको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशमा स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडी तथा अरबसागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ। यही कारण वर्षाको सम्भावना उच्च देखिएको हो।
प्रिमनसुन अवधिमा स्थानीय वायु सक्रिय हुने हुँदा हावाहुरी, गड्याङगुडुङसहितको वर्षा सामान्य मानिन्छ। तर, पछिल्लो अवस्थामा यसले मनसुनको संकेत दिइरहेको देखिन्छ।
प्रिमनसुन र मनसुनबीचको भिन्नता –
अंग्रेजी क्यालेन्डरअनुसार मार्च, अप्रिल र मे प्रिमनसुन महिनाहरू हुन्।
मनसुन भने जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा सक्रिय हुने गर्दछ।
-
प्रिमनसुनमा कुल वार्षिक वर्षाको १२.५% पानी पर्छ
-
मनसुनमा ८०%
-
पोस्ट मनसुनमा ४%
-
हिउँदमा ३.५% पानी पर्ने मौसमविद् बताउँछन्।
नेपालमा औसत रूपमा जुन १३ (जेठ ३०) मा मनसुन प्रवेश गर्ने गर्दछ।
गत वर्ष मनसुन जेठ २८ (जुन १०) मा प्रवेश गरेको थियो।
मौसमविद्हरूका अनुसार मनसुन वर्षेनी केही दिन अगाडि वा पछि पनि प्रवेश गर्न सक्छ। –0–


