प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौमसत्ताबाट बन्ने सरकारमार्फत मात्रै निर्वाचन- बादल

चितवन । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौमसत्ताबाट बन्ने सरकारमार्फत मात्रै आगामी निर्वाचन गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

एमाले चितवनले शनिबार नारायणगढमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष र विश्वासयोग्य निर्वाचन गराउन नसक्ने दाबी गरे। फागुन २१ को निर्वाचनलाई ‘हनी ट्र्यापिङ’ को रूपमा प्रस्तुत गर्दै नेता बादलले भदौ २३ र २४ गते भएको घटनालाई देशविरुद्धको षड्यन्त्र भनेर व्याख्या गरे। उनले प्रचण्ड–माधव पक्षको गठबन्धनलाई “१० कोठे टहरो” सम्बोधन गर्दै, त्यो गठबन्धनले आफूहरूको ओरालो यात्रा रोक्न नसक्ने बताए।

उहाँका अनुसार, कार्की सरकारको उद्देश्य पुराना राजनीतिक दलका नेता–कार्यकर्तालाई षड्यन्त्रपूर्वक फसाउने तथा संविधानले निषेध गरेका व्यक्तिलाई विदेशी शक्तिको दबाबमा प्रधानमन्त्री बनाउने रहेको छ। बादलले नेपालका स्रोत–साधन कब्जा गर्ने, चीन–भारतसँग पृथकतावाद उचाल्ने र नेपाललाई सैनिक अड्डा बनाउने योजनाअनुसार भदौ २३–२४ को ‘कलर रिभोलुसन’ मोडेल कार्यान्वयन गरिएको आरोप लगाए।
“नेपालमा बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउने प्रयास भइरहेको छ,” नेता बादलको आरोप थियो।

एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार कार्तिक २९ गते देशका ७७ वटै जिल्लामा जनसभा गर्ने कार्यक्रमअन्तर्गत चितवनमा सो सभा सम्पन्न गरिएको हो। एमाले चितवनका अनुसार प्रतिगमनविरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरूप उक्त जनसभा आयोजना गरिएको हो।–00–

Share:

सम्बन्धित समाचारहरु