कालिका, ६ जेठ । चितवन खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको लामै समय भयो । यहाँका स्थानीयतहले निकै तामझामका साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका थिए । तर कालिका नगरपालिकाको एउटा सिंगै टोल अझै खुल्ला क्षेत्रमै दिशा पिसावगर्न बाध्य छन् ।
कालिकाको वडा नं. ५ स्थित विकासे टोलका स्थानीय दिशा पिसाका लागि जंगल प्रवेशगर्छन । उसो त यो सुकुम्वासी टोल हो । विभिन्न ठाउँवाट यिनीहरु बसाई सरेर यो ठाउँमा आएको १५ वर्षबढी भयो । बसाई सराईनै लिएर यहाँ आश्रय लिइरहेका छन् । चुनावको बेला नेताहरुको ओइरो हुन्छ यो टोलमा । तर चुनाव सकिएपछि फेरि फर्किएर आउँदैनन स्थानीय माइला परियारले गुनासो गरे । यहाँ प्राय सबै दलितहरुनै बस्छन् ।
भीमवली सामुदायिक वनको सीमासँगै यिनीहरुको टोल जोडिएको छ । रातको समय होस या दिउँसो दिशा पिसाव लाग्यो भने जंगल प्रवेशगर्नुको विकल्प छैन । झण्डै २५ घरधुरी रहेको बस्तीमा पाँचजनाको घरमा मात्रै शौचालय छ । दिनभर ज्यालामजदुरी गरेर खाने यिनीहरु व्यस्थित शौचालय भए जंगल जाने आफुहरुको रहर नभएको बताउँछन् । वर्षातको बेला जुगा र हिलोले जंगलप्रवेश गर्नपनि निकै समस्या रहेको स्थानीय वीर कुमार परियारले सुनाए ।
अझै रमाइलो त यो टोलका केही परिवार पुरानो सिमलको फेदीमा दिन गुजारीरहेका छन् । सुकेको पुरानो सिमलको रुखमुनी जस्ताले छाएर आश्रय लिइरहेका छन् । हावाहुरीका कारण रुख ढल्यो भने मानविय क्षति नहोला भन्न सकिदैन । विकासे टोलमा विकासको शुन्य छ । स्थानीयका अनुसार जनप्रतिनिधिहरु पनि खासै पुग्ने गरेका छैनन् । दिनभर ज्यालामजदुरी गरेर फकिएपछि धन्न टाउको लुकाउने ठाउँ छ स्थानीय प्रतिज्ञा राई परियाले भनिन हाम्रो त भाग्यनै यस्तै रहेछ ।
यो विषयमा कालिका वडा नं. ५ का वडा अध्यक्ष दीपकबहादुर भट्टराईले उनीहरुको व्यवस्थापनको लागि वडाले प्रयास गरिरहेको बताए । ठाउँको अभावका कारण शौचालय बनाउन समस्या छ उनले भने सामुदायिक वनसँग समन्वय गरेर भएपनि यो टोलका स्थानीयका लागि शौचालय बनाउने प्रयास गरिरहेका छौं ।




–00–


