काठमाडौं,४ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्वहरु सक्रिय बन्दै गएको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् ।
आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै आईजी थापाले आगामी जेठ १५ गते राजावादीले गर्न लागेको प्रदर्शनमा उच्च सतर्कता अपनाउन निर्देशन दिए । ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला,’ थापाले निर्देशन दिए ।
प्रदर्शनको क्रममा कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले सबै प्रहरी युनिटलाई तयारी अवस्थामा रहन आह्वान गरे ।
प्रहरीभित्रको अमर्यादित व्यवहारप्रति कडा टिप्पणी
पछिल्लो समय प्रहरी कर्मचारीबीच सार्वजनिक स्थानमै झैझगडा र हातपातको घटना बाहिर आउन थालेपछि आईजीपी थापाले त्यसप्रति पनि कडा टिप्पणी गरे । ‘ड्यूटीको क्रममा वा कार्यालयको काममा आपसमा झगडा गर्ने, हातपात गर्ने कार्य संगठनका लागि सह्य छैन,’ उनले भने ।
नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल पुलिसका जवानमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनको छवि बिग्रिएको विषयमा उनले दुःख व्यक्त गरे । ‘पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो,’ उनले भने ।
गलत काम गर्ने प्रहरी कर्मचारीलाई संगठनले विधिअनुसार कारबाही गर्ने स्पष्ट गर्दै उनले थपे, ‘अन दी स्पट त्यसरी हातपात गर्नु उपयुक्त होइन ।’–00–


