काठमाडौं, २२ वैशाख। प्रतिनिधि सभा सदस्य अमरेकुमार सिंहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ सरकारकै षड्यन्त्रमा गरिएको दाबी गरेका छन्।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले कुनै सामान्य कर्मचारीले यस्तो हैसियत राख्न नसक्ने भन्दै चौधरीलाई राजनीतिक नेतृत्वको सहमतिमा पक्राउ गरिएको दाबी गरे। उनले भने, “कुनै कर्मचारीको हैसियत छैन कि राजनीतिक नेतृत्वसँग स्वीकृति नलिइकन पूर्वसांसदलाई पक्राउ गरोस्। यो प्रधानमन्त्री र गृहमन्त्रीको लेबलमै सहमति भएर गरिएको पक्राउ हो।”
सिंहले चौधरीलाई पक्राउ गर्ने कर्मचारी कुन राजनीतिक दलसँग आबद्ध थिए भन्ने प्रश्नसमेत उठाए। उनले उक्त घटनाले सरकारको असली चरित्र प्रस्टिएको बताए। यसअघि नाउपाका सांसद लालवीर चौधरीले पनि चौधरीको गिरफ्तारीप्रति आक्रोश व्यक्त गर्दै जवाफ नआए सत्ता त्याग्ने चेतावनी दिएका थिए।–00—


