काठमाडौँ, २५ चैत । सरकारले सार्वजनिक यातायातको भाडा दरमा उल्लेख्य वृद्धि गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि इन्धनको मूल्यमा निरन्तर वृद्धि भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा समायोजनका लागि यातायात व्यवस्था विभागलाई सैद्धान्तिक सहमति दिएको हो।
मन्त्रालयको सहमतिसँगै विभागले आजै नयाँ भाडा दर सार्वजनिक गर्ने तयारी गरेको छ। विभागका एक उच्च अधिकारीका अनुसार इन्धनको मूल्य बढेको अनुपातलाई नै मुख्य आधार मानेर भाडा समायोजन गर्न लागिएको हो।
प्रस्तावित नयाँ भाडा वृद्धि दर:
यातायात व्यवस्था विभागले मन्त्रालयको सहमतिअनुसार निम्न बमोजिम भाडा बढाउने तयारी गरेको छ:
-
यात्रुबाहक सवारीसाधन: १६.७१ प्रतिशत
-
पहाडी बाटोमा चल्ने मालबाहक सवारी: २१.६८ प्रतिशत
-
तराईको बाटोमा चल्ने मालबाहक सवारी: १५.७५ प्रतिशत
लामो समयदेखि यातायात व्यवसायीहरूले इन्धनको मूल्य बढेको भन्दै भाडा बढाउन सरकारलाई दबाब दिँदै आएका थिए। पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावका आधारमा स्वचालित प्रणालीबाट भाडा समायोजन गर्ने नीति अनुरूप यो निर्णय लिन लागिएको विभागले जनाएको छ।
नयाँ भाडा दर लागू भएसँगै लामो तथा छोटो दुरीका यात्रुहरू र ढुवानी सेवामा समेत प्रत्यक्ष आर्थिक भार पर्ने देखिएको छ। विभागले आज साँझसम्म औपचारिक सूचना प्रकाशित गरी परिमार्जित भाडा दर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।–00–


