नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पक्राउबारे जवाफ माग्यो, सरकार छाड्ने चेतावनी

काठमाडौं, २२ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग स्पष्ट जवाफ मागेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले उक्त विषयमा सरकार गम्भीर नबने आफूहरू सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन्।

सांसद चौधरीले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता प्रक्रिया अघि बढिरहेका बेला संरक्षक चौधरीलाई “अपहरण शैलीमा” पक्राउ गरेर डिल्लीबजार पुर्‍याइएको आरोप लगाए। उनले उक्त घटनापछि सरकारको तर्फबाट कुनै धारणा नआएकोप्रति आपत्ति जनाए।

उनले भने, “यसबारे अहिलेसम्म सरकारको आधिकारिक धारणा आएको छैन। त्यसैले भोलिको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुनेछौं।”

सांसद चौधरीको यो चेतावनीले सत्ता गठबन्धनभित्रको असन्तोष सतहमा आएको देखिएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु