काठमाडौं , २२ वैशाख । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार पोलमा ठोक्किँदा सडकमा रहेको बिजुलीको पोल भाँचिएर सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
राति ११:१० बजे ललितपुर महानगरपालिका–२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार तीव्र गतिमा अनियन्त्रित भई पोलमा ठोक्किएको हो।
प्रहरीका अनुसार, दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा
-
४० वर्षीय अमरध्वज पौडेल (घर म्याग्दी),
-
३२ वर्षीय विशाल विक,
-
२९ वर्षीय मोसेफ लामिछाने (दुवै ललितपुर गोदावरी निवासी) रहेका छन्।
तीनै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, विशाल विकको अवस्था गम्भीर रहेको छ र उनी हाल आईसीयूमा उपचाररत छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, कार अत्यधिक गतिका कारण आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा पोलमा झुण्ड्याइएको ११ हजार भोल्ट क्षमताको विद्युत् लाइन पनि प्रभावित भएको छ। पोल सडकको बीच भागमा ढलेपछि सम्पूर्ण सवारी आवागमन बन्द गरिएको छ।
सडक खुलाउन ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक तथा सुरक्षाकर्मीहरू मिलेर पोल हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।–00–


