रत्ननगर, ११ पौष । जेष्ठ नागरिकको सम्मान हाम्रो सभ्यताको पहिचानु भन्ने नाराका साथ रत्ननगरमा तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । दिवस मनाइरहँदा रत्ननगरका ज्येष्ठ नागरिकहरुले भने जेष्ठ नागरिककका लागि कानुनमा लेखिएको अधिकार व्यवहारमा नपाएको गुनासो गरेका छन् । रत्ननगर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि सरकारले घोषणा गरेको नीति, योजना र कार्यक्रमअनुसारको सहयोग नपाएको उनीहरूको गुनासो छ। रत्ननगर वडा नम्बर १० का भोला आचार्यले ज्येष्ठ नागरिकले निःशुल्क उपचार सेवा र आरक्षणसहितको यातायात सेवा नपाएको गुनासो गरेका छन् । बसमा यात्रा गर्दा परिचय पत्र देखाउदा समेत छुट नपाएको उनले दुखेसो पोखे ।
राज्यले बनाएको कानुनलाई सरोकारवाला निकायको बेवास्ता र व्यक्तिले कार्यान्वयन नगरी दिँदा समस्यामा परेको रत्ननगर ६ का ७४ बर्षिय घनश्याम तिमिल्सीनाले बताए। ‘ज्येष्ठ नागरिकहरुको हक अधिकारका लागि राज्यले कानुन बनाएको छ तर कार्यान्वय भएको छैन,’ उनले भने‚ ‘सम्बन्धित सरोकारवाला निकायलाई पनि कुनै चासो राखेको देखिँदैन। राज्यले कानुन बनाएर मात्र हुँदैन‚ लागु हुनु पर्दछ।’
कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुले सरकारले दिने सामाजिक सुरक्षा भत्ता अशक्त नागरिकहरुलाई घरघरमै पुर्याइदिनुपर्ने, ज्येष्ठ नागरिकलाई यातयात छुट‚ औषधि उपचारमा छुट हुने व्यवस्थालाई व्यवहारमा लागु गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताए। सामाजिक सुरक्षा भत्ता, पेन्सन लिन ज्येष्ठ नागरिकहरू दिनभरि सडकमा लाइन बस्नुपर्ने बाध्यता रहेको बताउँदै यसको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। यस्तै‚ हरेक स्वास्थ्य चौकी र अस्पतालमा ज्येष्ठ नागरिकलाई निशुल्कमा पाउने औषधी समेत नपाउने गरेको ज्येष्ठ नागरिकको गुनासो छ ।
जेष्ठ नागरिकको गुनासो सम्बोधन गर्दै मेयर प्रलाद सापकोटाले सरकारले दिएको भाडा छुटको विषयमा आएको गुनासो समाधान गर्ने बताउँदै प्रमाण सहित आएको खण्डमा तत्काल कार्वाही गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । कार्यक्रममा बोल्दै उपमेयर यादव प्रसाद पाठकले अस्पतालमा जेष्ठ नागरिकले सास्ती पाएको गुनासो सुन्दा दुःख लागेको भन्दै समस्या समाधान गर्न नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बालकृष्ण चापागाँई, वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा, वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे, वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल, वडा नम्बर ४ का वडाध्यक्ष राम कुमार चौधरी वडा नम्बर ६ का वडाध्यक्ष किरण महत्तो,महिला विकास तथा जेष्ठ नागरिक शाखाका प्रमुख दिपा घिमिरे,महिला विकास शाखाका कर्मचारी रन्जना पौडेल,नानिमाया पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तथा लक्षीत वर्ग छनौट समिति संयोजक यशोदा आधिकारी पौडेलले स्वागत मन्तब्य राखेकी थिइन् ।–00–


