वैशाख १८, काठमाडौं। भारतले नेपाललाई ६ सय मेगावाट थप विद्युत् दिने निर्णय गरेको छ। आज राति १२ बजेदेखि बिहान २ बजेदेखि साँझ ५ बजेसम्मको १५ घण्टाका लागि यो विद्युत् आपूर्ति सुरु हुनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, भारतले बिहीबार बिहान स्वीकृति दिएको र ढल्केवर–मुज्जफपुर ४०० केभी प्रसारण लाइनमार्फत यो बिजुली आयात गरिनेछ।
सुख्खायामका कारण नदी प्रवाहमा कमी आएपछि जलविद्युत् उत्पादन घटेको र विद्युत् माग उच्च रहेकाले आयातमा निर्भरता बढिरहेको प्राधिकरणले जनाएको छ।
हाल नेपालमा औसत आन्तरिक उत्पादन १,१७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २,०७७ मेगावाटसम्म पुगेको छ।
भारतसँगको पावर एक्सचेन्ज कमिटी (पीईसी) समझदारीअनुसार नेपालले बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनबाट अधिकतम ३५० मेगावाट आयात गर्न पाउँछ। तर हाल मैनैया–सम्पतिया लाइनबाट जम्मा ५० मेगावाट मात्रै आपूर्ति भइरहेको छ।
भारतमा आइपीएलका कारण विद्युत् माग बढेका कारण दररेट उच्च रहेको र त्यसले असर पुर्याएको प्राधिकरणले बताएको छ।
नेपालले इन्डियन एक्सचेन्ज मार्केट (आईईएक्स) बाट बिहान ६ देखि बेलुका ५ र राति ११ देखि बिहान ४ बजेसम्म विद्युत् खरिद गरिरहेको छ।–00–


