आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं,१८ बैशाख । आज मे दिवस अर्थात् यो वर्षको १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमहरु गरेर मनाइँदैछ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गर्न, साथै अधिकारहरू स्थापित भएको दिनका रूपमा मे १ तारिखका दिन यो दिवस हरेक वर्ष मनाउने गरिन्छ। विश्वभरका मजदुरहरूले यो दिवसलाई पर्वका रूपमा लिँदै, आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्।

यसपटक पनि नेपालमा विभिन्न मजदुर सङ्गठनहरूले विविध कार्यक्रम गरेर यो दिवस मनाउँदैछन्। सन् १८८६ को मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। सो आन्दोलनको क्रममा, सिकागोको हेय मार्केटमा बम विस्फोट र प्रहरीले गोली चलाउँदा सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता प्राप्त गर्‍यो।

पछि, सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व श्रम संगठन र श्रमिक नेताहरूको बैठकले यो दिन विश्वभर मनाउने निर्णय गर्‍यो। नेपालमा पनि, विस २००३ मा विराटननगरमा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा यो दिवसमा सार्वजनिक बिदा पनि दिने गरिन्छ।

मे दिवसको परम्परा पञ्चायती शासनको विरोधमा भित्रिएको थियो। नेपाल ट्रेड युनियन महासङ्घका अनुसार, पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले मे दिवस आयोजना गरेको थियो।

यो दिवसको महत्त्व र श्रमिकहरूको हकअधिकारका लागि गरिएको संघर्षलाई सम्झँदै, आजका कार्यक्रमहरूमा उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु