‘पार्वती’को प्रचारप्रसार तीव्र, भदौ १२ गतेदेखि देशभर प्रदर्शन

चितवन, ९ भदौ । नेपाली चलचित्र ‘पार्वती’को प्रचारप्रसार तथा पत्रकार भेटघाट कार्यक्रम चितवनमा सम्पन्न भएको छ। चलचित्रको निर्माण पक्षले कथावस्तु, कलाकार र प्रदर्शनको तयारीबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रचार अभियानलाई तीव्रता दिएको जनाएको छ।

अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ। चलचित्रले दिदी–भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया, संघर्ष तथा सामाजिक विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।

चलचित्रमा नीता ढुङ्गाना मुख्य भूमिकामा रहेकी छन् भने बाल कलाकार तथा गायक अशोक दर्जीले उनको भाइको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

‘पार्वती’को मुख्य कथावस्तु अटिजम भएकी दिदी र भाइबीचको प्रेम, आत्मीयता र संघर्षमा केन्द्रित छ। फरक विषयवस्तुलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्र भएकाले दर्शकको चासो बढ्ने निर्माण पक्षको अपेक्षा छ।

चलचित्रले सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेटसमेत प्राप्त गरेको छ। यससँगै परिवारका सबै सदस्यले एकसाथ बसेर चलचित्र हेर्न सक्ने निर्माण पक्षले जनाएको छ।

चितवनमा आयोजित पत्रकार भेटघाटमा चलचित्र निर्माण पक्षले ‘पार्वती’लाई दर्शकले माया र साथ दिने विश्वास व्यक्त गर्दै भदौ १२ गतेदेखि नजिकैका सिनेमा हलमा पुगेर चलचित्र हेरिदिन आग्रह गरेको छ।

 

Share:

सम्बन्धित समाचारहरु