चितवन, २३ असार। जिल्लामा अनुमति बिना सञ्चालनमा रहेका ४५ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्वीकृति नलिएका संस्थाहरुलाई बन्द गर्न प्रहरीलाई पत्र पठाएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलले बताए।
उनका अनुसार आवश्यक कागजात बुझाउन तोकिएको समयसीमा भित्र उपस्थित नभएका केन्द्रहरूलाई कानुनी प्रक्रिया अघि बढाएर बन्द गर्न लागिएको हो।
प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरी कार्यालयमा पत्र पठाइसकेका छौँ, अब आवश्यक कारबाही प्रहरीले गर्छ।”
बिना अनुमति सञ्चालन हुँदै आएका यस्ता केन्द्रमार्फत ठगी भइरहेको उजुरीका आधारमा जिल्ला प्रशासनले विभिन्न चरणमा कागजात पेस गर्न सूचना जारी गरेको थियो। पहिलो चरणमा २४१, दोस्रोमा १६ र तेस्रो चरणमा २१ संस्थाले मात्र आवश्यक कागजात बुझाएका थिए। बाँकी ४५ संस्थालाई अब बन्द गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ। –00—


