काठमाण्डौं, ११ बैशाख । १९औँ लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले आज राजधानीको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गरेको छ। लोकतन्त्र दिवसलाई ‘जनताले जितेको दिन’ का रूपमा स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा लाखौँ युवाको सहभागिता हुने एमालेको दाबी छ।
एमाले संगठन विभागका सचिव माधव ढुंगेलले ‘युथ सेलिब्रेशन’ कार्यक्रम विगतका प्रदर्शनमुखी कार्यक्रमभन्दा फरक हुने जानकारी दिएका छन्। “यो प्रदर्शन होइन, सेलिब्रेशन हो। हामी यसबाट बहुआयामिक सन्देश दिन चाहन्छौँ,” ढुंगेलले बताए।
उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन युवाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै लोकतन्त्रको भाव नयाँ पुस्तासम्म पुर्याउन यस्तो कार्यक्रमको आवश्यकता रहेको बताए। “लोकतन्त्रको संरक्षण र सम्वर्द्धनको जिम्मा यही पुस्ताको हो,” उनले भने।
दिउँसो १ बजे सुरु हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संक्षिप्त मन्तव्य राख्ने कार्यक्रम रहेको छ। त्यस्तै, ४० वर्ष मुनिका जनप्रतिनिधि, विभिन्न उमेर समूहका युवाहरू तथा युवा कलाकारहरूले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
सेलिब्रेशनमा आकर्षक स्टल र झाँकी
कार्यक्रमस्थलमा कफी सप, फुड स्टल, सेल्फी स्टल, सांस्कृतिक झाँकी तथा युवाले उत्पादन गरेका सामग्रीहरू प्रदर्शन गरिने स्टल राखिएको छ। युवा संघका अध्यक्ष क्षितिज थेवेले “यो लोकतन्त्रको उत्सव हो, जहाँ एक लाखभन्दा बढी युवालाई स्वागत गरिन्छ,” भन्दै एमालेमा आबद्ध नभएकाहरू पनि कार्यक्रममा सहभागी हुन सक्ने जानकारी दिए।
सवारी पार्किङ र ट्राफिक व्यवस्थापन
कार्यक्रमस्थल वरपर ट्राफिक व्यवस्थापनको लागि एमालेले सम्बन्धित निकायसँग समन्वय गरिसकेको छ। मोटरसाइकल र स्कुटरका लागि बग्गीखाना नजिक, मिनी र ठूला बसका लागि टुँडिखेल, र कारका लागि रंगशालामा पार्किङको व्यवस्था गरिएको छ।
लोकतन्त्र दिवसको ऐतिहासिक पृष्ठभूमि
वि.सं. २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्दै कार्यकारी अधिकार त्यागेका थिए। त्यसै दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रूपमा मनाइँदै आएको हो।
राजाको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता हुन् र जनभावनाअनुरूप प्रतिनिधिसभा पुनःस्थापित गरिएको हो।” जनआन्दोलनको बलमा भएको उक्त घोषणापछि वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो।—00–


