काठमाडौं, २ बैशाख । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ६ मन्त्रालयको समेत कार्यभार सम्हालेका छन् । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरूप प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।
बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललगायत नेताको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए ।
सरकारको काम–कारबाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारूढ दलका शीर्ष नेतालाई आग्रह गरेको बुझिएको छ । कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । कांग्रेसबाट थप चार मन्त्री र अरू दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।–00–


