चितवन, २ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार रोकिएको ५१६ दिन पुगेको छ। पछिल्लो पटक २०८० साल कात्तिक ३० गते चपरचुली क्षेत्रमा दुई गैँडाको चोरीसिकार भएको घटनापछि अहिलेसम्म कुनै चोरीसिकारीको घटना नदोहोरिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार उक्त घटनामा संलग्न ९ जना अभियुक्तलाई नौ दिनभित्र पक्राउ गरिएपछि सुरक्षामा थप कडाइ गरिएको हो। पछिल्लो समय चोरीसिकार नहुनुमा सुरक्षा रणनीतिमा परिवर्तन, निगरानी सञ्जालको सुदृढीकरण र स्थानीयको सहयोग मुख्य कारण रहेको उनले बताए।
हालसम्म चालु आर्थिक वर्षमा २४ वटा गैँडा मृत अवस्थामा फेला परेका छन्। ती सबैको मृत्यु प्राकृतिक कारणले भएको पुष्टि भएको छ। अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमण, आपसी लडाइँ, रोग, दलदलमा फस्नु, वृद्धावस्था र भाले गैँडाको आक्रमणजस्ता कारणले ती गैँडा मरेका हुन्।
गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए। तीमध्ये १८ वटा प्राकृतिक कारण, दुईवटा चोरीसिकारीको कारण र एकको कारण अज्ञात रहेको थियो। यस्तै, आर्थिक वर्ष २०७९/८० मा २२ वटा गैँडाको मृत्यु भएको थियो, जसमा २० वटा कालगतिले, एक विद्युतीय करेन्टबाट र एक चोरीसिकारीले मारेका थिए।
निकुञ्ज इतिहासमा एकपटक १,०७१ दिनसम्म चोरीसिकार शून्य हुँदा त्यसलाई उत्सवका रूपमा मनाइएको थियो। तर पछिल्लो समय यस्तो उत्सव नगर्ने नीति अपनाइएको अधिकारी थापामगरले जानकारी दिए।
सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको संख्या ७५२ रहेको छ। तीमध्ये ६९४ चितवनमा, ३८ बर्दियामा, १८ शुक्लाफाँटामा र ३ गैँडा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका छन्। यस वर्ष गैँडा गणना गर्ने तयारी भए पनि बजेटको अभावमा स्थगन गरिएको छ। यद्यपि, अनुगमन कार्यलाई तीव्रता दिइएको निकुञ्जले जनाएको छ।–00—


