कालिका, २७ असार । आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत बजेट पारितगर्दै कालिका नगरपालिकाको दोश्रो कार्यकालको तेश्रो अधिवेशन सकिएको छ । आज बसेको बैठकले बजेट सम्बन्धी विनियोजित ऐन २०७९ उपर दोश्रो संशोधनको अनुमोदन प्रस्तावसँगै अन्य कानुनी प्रस्ताव समेत पास गरेको छ ।
नगरकी उपप्रमुख नगर सभा विधेक समिति संयोजक समेत रहेकी विमला तमाङले प्रस्तुत गरेको विभिन्न कानुन, कार्यविधि तथा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेक, अर्थ विधेक बैठकले पारित गरेको हो । यस्तै नगर प्रमुखसँग विपन्न स्वास्थ्य विमा कार्यविधि २०८० समेत पारित भएको छ । यस्तै नगर पूर्वाधार साझेदारी कार्यविधिलाई समेत आजको बैठकले पारित गरेको छ ।
बैठकमा संस्थागत विकास तथा अनुशासन समिति संयोजक दीपक वहादुर भट्टराईले प्रस्ताव गरेको कालिका नगरपालिका अन्तर्गत नगरपालिका, वडा कार्यालय, स्वास्थ्य ईकाइहरुमा कार्यरत्त, ज्यालादारी तर्फका कर्मचारीहरुको सेवा करार नविकरणगर्ने प्रस्ताव समेत सर्वसहमतले पारित भएको छ । आर्थिक वर्ष २०८० /०८१ को पुस मसान्त सम्मका लागि अस्थायी दरवन्दी स्वीकृतगरी सेवा करार नविकरणगर्ने प्रस्ताव पारित भएको हो । ज्यालादारी लगायत अस्थायी सहित नगरपालिकामा ९९ जना कर्मचारी छन् ।
बैठकमा सामाजिक विकास समिति अन्तर्गत आर्थिक वर्ष २०७९/०८०मा भएको कामको अवस्था बारे समितिका संयोजक समेत रहेका वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठले जानकारी गराएका थिए । स्वास्थ्य, शिक्षा क्षेत्रमा नगरपालिका भित्र भएका कामहरुको वर्तमान अवस्था बारे जानकारी बैठकमा जानकारी गराएका हुन । ११ वटै वडाबाट स्वास्थ्य सेवा देखि शैक्षिक क्षेत्रमा भइरहेका प्रगती विवरण सुनाएका थिए । वडा न.२ का वडा अध्यक्ष लक्ष्मण पौडेलले सीमित स्रोत साधनका बीच ल्याइएको बजेटले कामगर्ने चुनौती थपिएको बताए । बजेटलाई सहि तरिकाले कार्यान्वयनगर्नुपर्नेमा जोड दिए ।
वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तमाङले नीति तथा कार्यक्रमले मागेको बजेट ल्याउन नसकेपनि सीमित स्रोत साधनलाई प्रयोग गरेर सम्बृद्ध कालिका बनाउन सबै जुट्नुपर्नेमा जोड दिए । स्थानीय स्रोत, साधन र जनशक्तिलाई प्रयोग गरेर श्रम शक्तिलाई प्रयोग गरेर अगाडी बढ्नुपर्ने स्थिती आएको बताए । बैठकमा वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजाले अहिलेको बजेट विकासको नीति अनुसार सम्मानजनक ढंगले विनियोजन भएकोमा खुशी व्यक्त गरे । नगरक्षेत्रभित्रका हरेक वडामा विकासको काम भइरहेको छ उनले भने – कसैलाई चित्त दुखाई छैन ।
भूगोल, जनसंख्या, राजश्व संकलनलाई आधार मानेर कालिका नगरपालिकाले वडागत बजेट विनियोजन गरेको हो । सबैको मनोभावना समेट्दै नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । सबैसँग समन्वय र छलफल गरेर ल्याएको बजेटले कालिकाको विकास र सम्बृद्धीका लागि हातेमालोगर्दै कामगर्ने नगर प्रमुख रेग्मीको भनाई छ ।
कालिकाले यस अघिनै आर्थिक वर्ष २०८० ÷०८१ का लागि ८१ करोड ७७ लाखबढीको बजेट प्रस्तुत गरेको थियो ।

























–00–


