निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्कँदा पाँच मजदुरको मृत्यु

रोल्पा, १६ मंसिर ।

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्कँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार, सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्कँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।

निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्कँदा उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुंगे पुल निर्माण भइरहेको थियो ।

पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुईजना भाग्न सफल भएका प्रहरीले जनाएको छ । रासस

Share:

सम्बन्धित समाचारहरु