चितवन, १३ साउन । नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको पछिल्लो गणनाअनुसार सन् २०२२ (२०७८ साल) मा ३५५ रहेको बाघको संख्या बढेर २०८२ सालको गणनामा ४२९ पुगेको हो।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो। गणनाले पछिल्लो चार वर्षमा देशभर ७४ वटा बाघ थपिएको देखाएको छ। पछिल्लो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५ वटा बाघ रहेका छन्। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५० वटा बाघ रहेका छन्।
यसअघि २०७८ सालमा गरिएको गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए।
पछिल्लो गणनाअनुसार चितवनमा १७, बाँकेमा २६, पर्सामा ३० र शुक्लाफाँटामा १४ वटा बाघ थपिएका छन्। तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको देखिएको छ।
नेपालमा सन् २०१८ (२०७४ साल) मा २३५ वटा बाघ रहेका थिए। त्यसपछि सन् २०२२ (२०७८ साल) को गणनामा संख्या १२० ले बढेर ३५५ पुगेको थियो। यद्यपि यसपटक बाघको संख्या बढे पनि वृद्धिदर भने अघिल्लो अवधिको तुलनामा घटेको छ। अघिल्लो गणनामा करिब ५१ प्रतिशतले वृद्धि भएको बाघको संख्या यसपटक २१ प्रतिशतले मात्र बढेको छ।
विभागले अत्याधुनिक क्यामेरा ट्र्यापिङ प्रविधिको प्रयोग गरी देशभर बाघ गणना गर्दै आएको छ। यस विधिबाट बाघको पहिचान, वितरण र अवस्थाबारे थप विश्वसनीय तथ्यांक संकलन हुने गरेको विभागले जनाएको छ।—00–


