चितवन, ५ जेठ । सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतीत गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले एक कार्यक्रमका बीच सम्मान गरेको छ।
सम्मानित हुनेमा द्वन्द्वपीडित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, भरतपुर महानगरपालिकामा गठित दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिकी सदस्य सँगिता भट्टराई, पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका सदस्यहरू कुमारी रमा ढुगांना र लालकुमारी सिलवाल, साथै सञ्जाल सदस्यहरू लक्ष्मी घले र शर्मिला बराली मगर रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले द्वन्द्वपीडित महिलाहरूको संघर्षप्रति सम्मान प्रकट गर्दै समाजमा उनीहरूको योगदानको कदर आवश्यक रहेको बताए। संस्थाकी अध्यक्ष तथा अग्रणी अधिकारकर्मी मीना खरेलले सशस्त्र द्वन्द्व जस्तो चुनौतीपूर्ण समयमा पनि आत्मगौरव र आत्मविश्वासका साथ अघि बढ्ने महिलाहरूको अदम्य हिम्मत प्रेरणादायी रहेको धारणा राखिन्।
सम्मानित महिलाहरूले सम्मानले थप जिम्मेवारीको अनुभूति गराएको जनाउँदै, द्वन्द्वपीडित महिलाका मुद्दाहरूलाई नीति तथा कार्यक्रममार्फत प्राथमिकतामा राख्न सरकार र सरोकारवालाहरूलाई आग्रह गरे। उनीहरूले विशेषतः स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चिततामार्फत नेपालमै बस्न सकिने वातावरण तयार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, वडा नम्बर १० का सदस्यहरू सूर्यवदना हमाल र पार्वती नेपाली, आदर्श नारी विकास केन्द्रकी अध्यक्ष उषा खरेल सुवेदी, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली तथा अधिवक्ता गोमा न्यौपानेलगायतले धारणा राखेका थिए। सशस्त्र द्वन्द्व (२०५२–२०६२) ले हजारौँ महिलाको जीवनमा गहिरो असर पारेको थियो। भरतपुरमा पनि यस्ता महिलाहरू अझै पनि पीडाबाट गुज्रिरहेका छन्। उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
उक्त कार्यक्रम आदर्श गृह नेपालको आयोजनामा र भरतपुर–१० वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको हो। –00–


