पर्यटन क्षेत्रको विकासका लागि हात्तेमालोगर्न चाहन्छौं - विनोद रेग्मी

कालिका नगरक्षेत्रभित्रको सामुदायिक वनमा नाईट सफारी संचालनगर्न पर्यटन व्यवसायीहरुको सुझाव

कालिका, १८ असोज । कालिका नगरक्षेत्रभित्रको सामुदायिक वनमा नाईट सफारी संचालनगर्न पर्यटन व्यवसायीहरुले सुझाव दिएका छन् । कालिका नगरपालिकाले आयोजना गरेको पर्यटन विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक छलफल कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन ।

क्षेत्रीय होटल संघ नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी सुमन घिमिरेले पर्यटन क्षेत्रमा कालिकाले केहीनयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कालिकाको यूनिक प्रोडक्ट के हो ? त्यसलाई ध्यान दिएर कार्यक्रम ल्याए सौराहाका पर्यटन व्यवसायीहरुले बलियो साथ दिन सकिने स्पष्टपार्नुभयो । हात्ती सफारी, जंगल सफारी, जीप सफारी जस्ता कार्यक्रम सौराहा नजिकैका सामुदायिक वन क्षेत्रमा भइरहेकाले कालिकाले स्थानीय सामुदायिक वन क्षेत्रमा नाईट सफारी गराउन सके सौराहा आउने धेरै पर्यटक कालिका आउने उहाँले दावीगर्नुभयो ।

पदमपुरमा रहेको भाइरल घरको प्रमोशनको सम्भावनालाई समेत अध्ययन गरेर कालिका पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँको सुझाव छ । कालिकामा आउने पर्यटकहरुका लागि पर्यटन सूचना केन्द्र स्थापनागर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा रत्ननगर पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भेषराज दुवाडीले पर्यटन क्षेत्रको विकासका लागि समग्र चितवनसँग कालिकाले सहकार्य गरेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । शक्तिखोर क्षेत्रमा औधोगिक र्पाक निर्माणलाई प्राथमिकता दिन समेत सुझाव दिनुभयो । कयरखोलालाई तटबन्धनगरी पर्यापर्यटन र औधागिक क्षेत्रलाई सँगै जोड्न उपयुक्तहुने धारणा राख्नुभयो । राप्ती नगरपालिका, खैरहनी, रत्ननगरसँग सहकार्य गर्दै कालिकाले इच्छाकामनाको उपदाङगढीलाई समेत जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले पर्यटन विकासका लागि कालिकाले दीर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । विशेष ठाउँलाई फोकसगरेर लगानीगर्न सके थप प्रभावकारी बनाउन सकिने उहाँको भनाई छ । यहाँको सिन्ती झरनालाई थप प्रमोशनगर्नपर्नेमा उहाँले जोड दिनुभयो । कृषि, शिक्षा, उद्योग र स्वास्थ्यनै पर्यटनको प्रमुख आधार हो उहाँले भन्नुभयो– हामीले बेच्ने भनेको पर्यटननै हो ।

देशभित्रका नागरिक बाहिर गइरहेकाबेला बाहिरका मान्छे स्वदेशमा कसरी भित्र्याउने भन्ने विषयमा ध्यान राखेर लाग्नुपर्ने बेला भएको उहाँले बताउनुभयो । यो वर्ष चितवन महोत्सवमा पर्यटनलाई प्राथमिकता दिने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो । चितवन महोत्सवमा कालिका नगर क्षेत्रभित्रको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रशारगर्न सक्छौं उहाँले भन्नुभयो– यहाँको पर्यटन क्षेत्रको प्रमोशन गर्न हामी सधै सकारात्मक छौं ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले नगरक्षेत्रभित्रको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा कालिका नगरपालिकाले लगानीगर्दै आएको बताउनुभयो । भएका पुराना पर्यटकीय गन्तव्यहरुमा आवश्यकताका आधारमा पूर्वधार निर्माणको काम भइरहेको बताउनुभयो । पालिका अझै नयाँ नयाँ गन्तव्यहरु खोजि गरिरहेको छ उहाँले भन्नुभयो । कालिकामा युद्ध संग्राहालको रुपमा विकासगर्न समेत कालिकाले तयारी गरिरहेको बताउनुभयो । माओवादी सेनाहरुको आश्रय स्थललाई लक्षित गरेर युद्धसंग्रहालय निर्माणका लागि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग केही छलफल समेत भइसकेको उहाँले जानकारी दिनुभयो ।

कालिका पर्यटन क्षेत्रमा अब्बल बन्दै गएका कारण यो क्षेत्रमा लगानीगर्न समेत उहाँले आग्रहगर्नुभयो । अन्त ठाउँमा ठूलाठूला होटल, रिसोर्ट संचालन गरिरहेकाहरुलाई पनि कालिकामा शाखा स्थापना गरेर आउन आग्रहगर्नुभयो । लगानीमैत्री बातावरण बनाउन कर छुट देखि आवश्यक सहयोगगर्न स्थानीय सरकार तयार रहेको स्पष्टपार्नुभयो ।

कालिका नगरपालिका उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुडामणीशर्मा गौतमले कार्यक्रमको उद्देश्यबारे प्रकाशपार्नुभएको थियो ।  कार्यक्रममा रेवान सौराहाका धुव्र गिरी, पर्यटन व्यवसायी गंगा गिरी लगायतले बोल्नुभएको थियो । कार्यक्रम नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा आयोजना गरिएको हो । —00—

 

Share:

सम्बन्धित समाचारहरु