काठमाडौं,२ साउन ।
देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानमै रहेकाले विशेषगरी कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार ती चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । साथै, उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्ने देखिएको छ ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेस तथा अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ ।
मौसम विभागले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्र्यान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पनि बढ्ने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
–00–


