काठमाडौं, १९ असार । रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन पेश भएको छ । तीब्र दवावका बीच प्रतिवेदन पेश भएको हो ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि सभापति लामिछानेले प्रतिवेदन पेश गर्न नदिएको आरोप महामन्त्री ढकालले लगाएका छन् । तर रास्वपाले भने बाहिर आएको हल्ला गलत भएको बताएको छ ।
मुकुल ढकालले केहीबेर अघिमात्रै सबै मिडिया कसरी हल्लाइदिन्छु भनेर चुनौती दिएका थिए । नभन्दै त्यसैगरी एकतर्फी समाचार आयो – रास्वपाका एक नेताले भने ।
महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएको बताएका छन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे । महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बढेर सुनाएका छन् । बैठकमा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक(दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’–00–


