काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्।
कार्कीलाई आज साँझै राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच प्रधानमन्त्री पदको शपथ ग्रहण गराइनेछ। शपथ ग्रहण कार्यक्रम राति ९ बजे तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यो निर्णय हालैका राजनीतिक अस्थिरता र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि आएको हो। देशभर फैलिएको युवाहरूको आन्दोलन (जेन जेड आन्दोलन)ले नयाँ नेतृत्वको माग गरेपछि राष्ट्रपति र आन्दोलनकारीबीच सहमति जुटेको हो।
नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश रहिसकेकी कार्की अब अन्तरिम प्रधानमन्त्रीका रुपमा पनि पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर पाउने भएकी छन्।
राजनीतिक विश्लेषकहरूले उनको नियुक्तिलाई सहमतिको प्रतीकात्मक कदम मानिरहेका छन्। अन्तरिम सरकारको मुख्य जिम्मेवारी भने आगामी स्थायी राजनीतिक समाधानका लागि वातावरण तयार गर्नु हुने बताइएको छ।–00—


