फागुन २६ संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान करिब साढे सात बजे तिर मादी नगरपालिका–६ को पुलुङ्गस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालकी पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल र मादी–५ का ५५ वर्षीय श्याम शेर्पा रहेका छन्।यस्तै मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनका ८ वर्षीय छोरा सुदिप घिसिङको दुर्घटनामा मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन्। घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको डिएसी सुवेलीले जानकारी दिए।
बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए।