विवादित मन्त्रीहरूका बारेमा संसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विवादित मन्त्रीहरूका विषयमा संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विवादित मन्त्रीहरूको जवाफ माग गर्दै संसद बैठक अवरोध गरेका थिए। जसले गर्दा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

अवरोध पछि खुलेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले विवादमा मुछिएका मन्त्रीहरूका बारेमा संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,माननीय सदस्यहरू बैठकमा यहाँहरूले नियमित उठाउँदै आउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। माननीय सदस्यहरूले उठाउनु भएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन गदर्छु।

बैठकमा प्रतिपक्षी दलहरू नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए।

 

सभामुखले विपक्षी सांसदहरूले उठाएका विषयमा सरकारलाई जवाफ दिन निर्देशन दिएपछि संसदको अवरोध हटेको छ। संसदको संभावित कार्यतालिकाअनुसार आगामी बैठक १८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।

अहिले संसदमा सांसदहरूले आ- आफ्नो धारणा राखिरहेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु