चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएका दुई हात्ती पहिलो पटक कतार पठाइने भएका छन्। प्रजनन् केन्द्रमा हुर्केर तालिम पाएर सौराहा हात्तीसारमा रहेका ७ वर्षीया रुद्रकली र ६ वर्षीय खगेन्द्र प्रसादलाई आगामी कात्तिकभित्र कतार पठाउने तयारी भइरहेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यका अनुसार कतारले दुई वर्षअघि कूटनीतिक माध्यममार्फत हात्ती मागेको थियो। आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न दुई वर्ष लागेको उनले जानकारी दिए।
कतारको राजधानी दोहास्थित चिडियाखानामा राख्नका लागि यी हात्ती पठाइँदै छन्। त्यहाँ हात्ती राख्ने स्थान र वातावरणबारे नेपाली प्राविधिक टोलीले अध्ययन गरेको र विशेषज्ञ प्रतिवेदनअनुसार हात्ती बाँच्ने अवस्था देखिएकाले पठाउन लागिएको विभागले जनाएको छ।
कतारमा अत्यधिक गर्मी हुने भएकाले हात्तीलाई एसीयुक्त (चिसो) वातावरणमा राख्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, हात्तीले खाने घाँस भारतबाट विमानमार्फत लैजाने र आवश्यक परे नेपालबाट समेत लैजान सकिने तयारी कतार सरकारले गरेको छ। यी हात्तीलाई चितवनबाट महेन्द्र राजमार्ग हुँदै नवलपरासीमार्ग भैरहवा पुगाएर त्यहाँबाट चार्टर विमानमार्फत दोहा लैजाने कार्यक्रम तय भएको छ। हात्ती राख्ने फलामे खोर निर्माणको काम भइरहेको र पूरा भएपछि मात्र पठाइने विभागले जनाएको छ।
हात्ती सँगै दुई जना नेपाली माउते पनि कम्तीमा एक महिनाका लागि कतार जानेछन्। उनीहरूले त्यहाँका माउतेलाई हात्तीको चालचलन र स्याहार गर्ने तरिका सिकाएर फर्कने छन्। सम्पूर्ण खर्च कतार सरकारले बेहोर्ने समझदारी भएको प्रवक्ता आचार्यले जानकारी दिए।
चितवन हात्ती प्रजनन् केन्द्रमा हालसम्म ६८ वटा हात्ती जन्माइसकिएका छन्। सन् १९८७ (२०४४ साल) मा भारत, म्यानमार र थाइल्यान्डबाट ल्याइएका २० हात्तीबाट सुरु भएको यो केन्द्रले जन्माएको हात्ती पहिलो पटक उपहारस्वरूप विदेश पठाउन लागिएको हो।
विभागका अनुसार यसअघि नेपालले विभिन्न मुलुकमा अन्य वन्यजन्तु पठाइसकेको भए पनि चितवनमा जन्मेका हात्ती पहिलो पटक कतार पठाउन लागिएको हो।–00—


