कालिकाको खोलेसिमल बजारमा अनुगमन – व्यवसायी दर्ता, नविकरण, मूल्य सूची भेटिएन

कालिका, २३ असोज । चितवनको कालिका नगरपालिकाले चाड पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला समन्वय समिति चितवनको समन्वयमा मंगलबार खोलेसिमलका मुख्य बजारको नगरपालिकाले अनुगमन गरेको अनुगमन टोलीका संयोजक तथा कालिका नगरपालिकाकी उप प्रमुख विमला तामाङले बताईन् । खोलेसिमल बजारका किराना पसल, मासु पसल, होटल, मोटरसाईकल वर्कसप, कपाल काट्ने सैलुन लगाएत अन्य पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका मसलाका प्याकेट, रङ मिसाईएका अखाद्य बस्तु बिक्री वितरण गर्दै भेटिएको छ । सोही क्रममा बजारका अधिकाशं पसलहरु व्यवसायी दर्ता बिना तथा बिना नविकरण सञ्चालन भईरहेको पाईएको उप प्रमुख तामाङले जानकारी दिईन् । उप प्रमुख तामाङका अनुसार बजारका विभिन्न किराना पसल, मदिरा पसल, हार्डवेयर, औषधी पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको हो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको उनको भनाईछ । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको वडा नं। ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले बताए । अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले जानकारी दिए । सबै व्यवसायीहरुलाई यो महिनाभित्र नगरपालिकामा आएर व्यवसायी दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको उनले बताए ।

बजार अनुगमनका क्रममा सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाईने कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को नगरपालिकाको अधिकारको बुँदा नम्बर ९ञ० ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था गरेको छ । उक्त ब्यबस्थामा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु तथा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाइ दिइएको छ ।

उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । अनुगमनका क्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि शर्मा, खाद्य निरिक्षक भरतपुरका प्रमुख धननाथ अधिकारी, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका प्रमुख महादेव प्रसाद हुमागाई, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय प्रहरी प्रशासन लगाएको उपस्थिति रहको थियो ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु