हेटौंडा, २९ पौष । मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। आइतबार बिहान करिब ९ बजेको समयमा हेटौंडा-१० स्थित बसपार्कमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट १९ वर्षीय इन्ताज आलमलाई नियन्त्रणमा लिएको छ।
उनको साथबाट ५ किलो ४०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । यस्तै आज दिउँसो करिब १-४५ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिकाबाट ६ किलो २ सय ३५ ग्राम लागूऔषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका-७ प्रहरी कार्यालय अगाडि चेकजाँच गर्दा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ च ७४०४ नम्बरको कारबाट १०० ग्राम चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार कार चालक बाराका २१ वर्षीय याकुब खान र कारमा रहेका अन्य ४ जनालाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा बाराका २० वर्षीय मुकेश राम भन्ने मुस्तकी राम, पर्साका २० वर्षीय इरमान आलम र २१ वर्षीय सोयल मिया रहेका छन्।
उनीहरूलाई पक्राउ गरेपछि थप सोधपुछमा उनीहरूले मनहरी-६ का ४२ वर्षीय रामनारायण श्रेष्ठबाट लागूऔषध लिएको बताएपछि श्रेष्ठको घर खानतलासी गर्दा थप ६ किलो १३५ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठसहित सबै पक्राउ परेका सबैलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–


