ऊर्जामन्त्रीको स्पष्टीकरण : चितवनमा लोडसेडिङ होइन, पम्प नचलाउन भनिएको हो 

 

सेताेनेपाल |-

काठमाडौं ,११ साउन । चितवनमा लोडसेडिङ सुरु भएको भन्दै सार्वजनिक भएको सूचनाप्रति ऊर्जामन्त्री दीपक खड्काले खण्डन गर्दै प्रष्टिकरण दिएका छन्।

पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले सूचनाको लेखाइ नै त्रुटिपूर्ण भएको बताए। उनका अनुसार चितवनमा लोडसेडिङ नभइ विद्युत् लाइन मिलाउने क्रममा बेलुकीको समयमा पानी तान्ने मोटर (पम्प) नचलाइदिन मात्र भनिएको हो।

‘लोडसेडिङ होइन, सूचनाको लेखाइ गलत भएको हो,’ मन्त्री खड्काले भने, ‘दुई दिनका लागि लाइन मिलाउनु पर्ने भएकाले बेलुकी काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको हो।’

बुधबार चनौली वितरण केन्द्रले चितवनमा दैनिक तीन–तीन घन्टा विद्युत् आपूर्ति बन्द हुने उल्लेख गर्दै सूचना सार्वजनिक गरेको थियो। त्यसपछि सामाजिक सञ्जालमा चितवनमा पुनः लोडसेडिङ सुरु भएको चर्चा चलेको थियो।

–00–

Share:

सम्बन्धित समाचारहरु