भदौ २०, चितवन
नक्कली प्रहरी कार्ड देखाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ गैरिवारीबाट नक्कली प्रहरी परिचयपत्र देखाएर लुटपाट गर्ने दुईजना शनिबार दिउँसो पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नक्कली परिचयपत्र देखाएर लुटपाट गर्दै हिँडेका रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौना बस्ने वर्ष २८ को विशाल पौडेल र सोही स्थान बस्ने वर्ष ३० को विजय महतलाई पक्राउ गरेको हो ।
ना ३६ प ६५२० नम्बरको स्कुटरमा सवार उनीहरुले गैरिवारीमा आईसक्रिम तथा कुल्फि बिक्री गर्ने एक भारतिय नागरिकलाई प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की देखाएर ५ हजार ४ सय रुपैयाँ लुटेका थिए ।
लुटेर शक्तिखोरतर्फ भागेका उनीहरुलाई प्रहरीले दुईघण्टापछि फर्किदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले लुटपाट गरेको रकम र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक विशाल पौडेल लेखिएको कार्ड बरामद गरेको छ ।
बरामद भएको प्रहरीको परिचयपत्र नक्कली भएको प्रवक्ता अधिकारीले बताए । पक्राउ परेका दुवैजनालाई चोरी तथा डाका मुद्धामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।