रेशम सापकोटा – सेतो नेपाल
चितवन- ८ साउन। – शिक्षामा नविन अभ्यास र सहकार्यको गति बोकी चितवनको माडी नगरपालिकाबाट करिब ६० जनाको प्रतिनिधिमण्डल बिहीबार मध्यविन्दु नगरपालिका पुगेको छ।

नगरप्रमुख तारा कुमारी काजी महतोको नेतृत्वमा गयको यो टोलीले ‘हाम्रो खुसी’ पाठ्यक्रम तथा मध्यविन्दु नगरपालिकाका उत्कृष्ट शैक्षिक अभ्यासहरू प्रत्यक्ष अवलोकन गरेको हो।
प्रतिनिधिमण्डलमा माडी नगरपालिकाका सामाजिक विकास समिति प्रमुख, नगर शिक्षा अधिकृत, जनकल्याण माध्यमिक विद्यालयका प्रतिनिधिहरू लगायत विभिन्न तहका शैक्षिक अभियन्ताहरू सहभागी थिए।
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले टोलीलाई आत्मीय स्वागत गर्दै ‘हाम्रो खुसी’ पाठ्यक्रमका अवधारणा, उद्देश्य र यसको प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

उहाँले विद्यार्थीहरूको सिकाइमा आएको सकारात्मक परिवर्तनका उदाहरणहरू प्रस्तुत गर्दै माडी नगरको चासोप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षा महाशाखा प्रमुख पदमराज आचार्य, कार्यक्रम संयोजक लक्ष्मी पाण्डे तथा उपप्रमुख पूर्णकला चौधरीलगायत पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
उनीहरूले आपसी अनुभव आदान–प्रदान र सहकार्यले दुवै नगरको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।
सेतो नेपालसँग कुराकानी गर्दै माडी नगरपालिकाकी नगरप्रमुख तारा कुमारी काजी महतोले भन्नुभयो,-“मध्यविन्दु नगरको ‘हाम्रो खुसी’ कार्यक्रम साँच्चिकै प्रेरणादायी छ। हामीले यहाँका विधि, दृष्टिकोण र अभ्यासहरूबाट धेरै कुरा सिक्न पायौं। यस किसिमको भ्रमणले हाम्रो नगरमा पनि शिक्षा प्रणाली सुधार गर्न थप उत्प्रेरणा मिल्नेछ।”
प्रतिनिधिमण्डलले एक रात दुई दिनको भ्रमण अन्तर्गत आज पहिलो दिन मध्यविन्दु नगरपालिका (नवलपरासी) मा रहेर विभिन्न विद्यालय, कार्यक्रम र शैक्षिक संरचनाहरूको अवलोकन गरेको छ। भोलि प्रतिनिधिमण्डलले अन्य विभिन्न शैक्षिक स्थलहरूको भ्रमण गरी माडी फर्कने कार्यक्रम रहेको छ।–00–


