कालिका, ३ असाेज । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १६औँ बार्षिक साधारण सभा बुधबार गरिएको छ ।
साधारण सभाको कालिका नगरका मेयर विनोद रेग्मीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । साधारण सभामा चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले आर्थिक कारोबारसंगै शेयर सदस्यको आर्थिक विकास, सामाजिक उत्तरदायित्व बहन र संस्थागत विकासलाई ध्यानमा राखेर योजना बनाएको जानकारी दिए ।
२२ बुँदे नीति तथा कार्यक्रममा ८० बर्ष माथिका शेयर सदस्यलाई पेन्सन, असल ऋणि सदस्यलाई ग्रिन कार्ड, कालिका वडा नं ६ र रत्ननगर १५ मा एक घर एक शेयर सदस्य अभियान सञ्चालन गर्ने, शेयर सदस्यको उपचारमा छुटको लागि अस्पतालसंग सम्झौता गर्ने, साना उद्योग र लघु उद्योगमा लगानी प्रर्बधन गर्ने, अनिबार्य बचतमा व्याजदर वृद्धि गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा संस्थाका सचिव लालुप्रसाद दाहालले प्रगति प्रतिवेदन, संस्थाकी कोषाध्यक्ष कविता न्यौपानेले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुमणि लामिछाने लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो सहकारीले आर्थिक बर्ष २०७८/ ८० मा ४ करोड ८७ लाख ९९ हजार ४९१ रूपैया मुनाफा गर्न सफल भएको छ । सो आर्थिक बर्षमा १२ करोड ९५ लाख ५६ हजार ९७१ रूपैया आम्दानी गरेको सो सहकारीले ८ करोड ७ लाख ५७ हजार ४८० रूपैया खर्च कटाएर ४ करोड ८७ लाख ९९ हजार ४९१ रुपैया मुनाफा गर्न सफल भएको संस्थाकी कोषाध्यक्ष कविता न्यौपानेले जानकारी दिइन् ।
सो सहकारीको शेयर पुँजी १० करोड ५४ लाख, बचत संकलन ५८ करोड ९४ लाख, उठ्न बाँकी ऋण ७२ करोड ४९ लाख, जगेडा कोषमा १० करोड ६१ लाख, अन्य कोषमा ५ करोड २९ लाख रहेको संस्थामा सचिव लालुप्रसाल दाहालले जानकारी दिए ।
साधारण सभामा उत्कृष्ट वित्तीय कारोवार गर्ने ३२ जना सहित ज्येष्ठ शेयर सदस्यहरु मीनप्रसाद अधिकारी, कृष्णप्रसाद लामिछाने, टीकाकुमारी सिंखडा र टेकबहादुर न्यौपानेलाई सम्मान गरिएको छ । सो संस्थाले जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र मनकामना दुग्ध उत्पादक सहकारी संस्थालाई नगद ५०÷५० हजार सहित विशेष सम्मान तथा थप नौं वटा संस्थालाई समेत सम्मान गरिएको छ ।
कर्मचारी तर्फ प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठक सहित कमल श्रेष्ठ, नर्मता अधिकारी, अभिनास कुमाल, रन्जना अधिकारी, दुर्गाकुमारी पन्त, लक्ष्मी कार्की, मदन ओस्ती, रेशमलाल पन्त, रामप्रसाद पन्त, डिल्लीबहादुर प्याकुरेल लाई समेत पुरस्कृत गरिएको छ ।
सो अबसरमा मेयर रेग्मीले आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको पहिचान गरी लगानी गर्न आग्रह गरे । उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्दै उनले त्यसका लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए ।
संस्थाका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष गोेविन्द भट्टराई, राप्रपाका नगर अध्यक्ष नारायण चालिसे, शेयर सदस्य रिता काप्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले अध्यक्ष लामिछानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सहित अन्य तीन वटा प्रतिवेदन सर्बसम्मत पारित भएको छ ।–00–


