काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको उनीहरू निकट नेताहरूले बताएका छन्।
गएराति काठमाडौंमा रहेको असिम साहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि र बालेनबीच भेट भएको हो। भेटपछि दुवै जना एउटै गाडीमा बाहिरिएको बताइएको छ, जसले राजनीतिक वृत्तमा चासो र चर्चा बढाएको छ। भेटवार्तामा सहभागी तथा संयोजनकर्ता रास्वपा नेता असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको थियो। छलफलमा मिलेर अघि बढ्नुपर्ने विषयमा केन्द्रित भएर कुराकानी भएको उनले जानकारी दिए। यद्यपि भेटमा भएका ठोस एजेन्डा सार्वजनिक गरिएको छैन।
“बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो,” असिम साहले सञ्चारकर्मीसँग भने, “त्यसको सुखद सुरुवात भएको छ। सन्देश स्पष्ट छ—दुवै जना अब मिलेर अगाडि बढ्ने हो।” साहले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिक्रिया जनाउँदै लेखेका छन्, “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। सबै नेपालीलाई बधाई।”
सहकारीको रकम हिनामिनाको आरोपमा लामो समय कारागारमा बसेपछि गत शुक्रबार धरौटीमा रिहा भएका रवि लामिछाने पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक भेटघाट र पार्टी गतिविधिमा सक्रिय देखिँदै आएका छन्। बालेन साहसँगको यस भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
यस भेटले वैकल्पिक राजनीति र सहकार्यको सम्भावनाबारे नयाँ सन्देश दिएको उनीहरू निकट नेताहरूको भनाइ छ।—00—


