काठमाडौं, ४ जेठ । भारतको अण्डमान तथा निकोबार द्वीप समूहमा वैशाख ३० गते (मे १३) मै मनसुन प्रवेश भइसकेको छ । भारतीय मौसम विभागका अनुसार यो सामान्यभन्दा ९ दिनअघि हो । अहिले मनसुन श्रीलंकाको मध्य भागसम्म फैलिइसकेको छ ।
श्रीलंकामा पनि मनसुन ९ दिनअघि प्रवेश-
सामान्यतया श्रीलंकामा २६ मेमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष १७ मेमै मनसुन भित्रिसकेको छ । नेपालको मौसम प्रणालीमा हाल पश्चिमी वायु र स्थानीय वायु सक्रिय छन् । साथै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आउँदा देशका धेरै भागमा नियमित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१२ घन्टामा चितवनसहित विभिन्न ठाउँमा भारी वर्षा
-
स्याङ्जा (१११.४ मिमि)
-
चितवन, शक्तिखोर (९३.८ मिमि)
-
कास्की, लामापाटन (५० मिमि)
-
स्याङ्जा, मलुङ्गा (४९.४ मिमि)
यसबीच केही स्थानमा क्षति समेत भएका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा भेलबाढी जाँदा एक महिला बेपत्ता भएकी छन् । स्थानीयका अनुसार शनिबार पनि रोशी तटीय क्षेत्रमा बाढी आएको थियो ।
अझै दुई सातासम्म सक्रिय मौसम रहने
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी जेठ १८–२० (जुन १–३) सम्म नै सक्रिय वर्षा प्रणाली कायम रहनेछ ।
‘वर्षा र हावाको ढाँचा मनसुनी वर्षा जस्तै देखिन्छ, यद्यपि यसलाई औपचारिक रूपमा मनसुन भनेको छैन,’ पोखरेलले बताए ।
नेपालमा सामान्यतः जेठ २७ (जुन १०) मा मनसुन प्रवेश गर्छ । यद्यपि यसपटक सरदरभन्दा छिट्टै मनसुन भित्रिने सम्भावना प्रबल रहेको मौसमविद्हरूको अनुमान छ ।
प्रि–मनसुन याममा ६७.२ प्रतिशत वर्षा भइसकेको
फागुन १७ देखि जेठ १७ सम्मलाई प्रि–मनसुन अवधि मानिन्छ । यो अवधिमा सामान्यतया २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ । जेठ २ गतेसम्ममै १५३.९ मिलिमिटर वर्षा भइसकेको छ, जुन सरदरको ६७.२ प्रतिशत हो ।
कहाँ बढी र कहाँ कम वर्षा?
सरदरभन्दा बढी वर्षा भएका स्थानहरू
-
दाङ, घोराही, भैरहवा, जुम्ला, नेपालगञ्ज
-
जनकपुर, धनकुटा, विराटनगर, ओखलढुंगा, धरान
सरदरभन्दा कम वर्षा भएका स्थानहरू
-
ताप्लेजुङ, पोखरा, काठमाडौं, जिरी
-
लुम्ले, जोमसोम, डडेलधुरा, धनगढी