काठमाण्डौं, ११ भदौ । क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन्। सोमवार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन्। उनलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए।
पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए। उनले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता जनाए। उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताए।
उनले भने, ‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एशिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’
क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए। नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।–00–
फाइल तस्विर


